नियम ११३
मुद्दा व्यवस्थापन समिति
(१) अदालत, मातहतका अदालत तथा न्यायिक निकायमा रहेका मुद्दाको व्यवस्थापन तथा अभिलेखका विषयमा आवश्यक नीति निर्धारण गरी त्यसको अनुगमन गर्ने समेतको कार्य गर्न अदालतमा एक मुद्दा व्यवस्थापन समिति रहनेछ।
(२) उपनियम (१) बमोजिमको समितिको गठन देहाय बमोजिम हुनेछ :–
(क)   प्रधान न्यायाधीशले तोकेको अदालतको न्यायाधीश           -अध्यक्ष
(ख)   प्रधान न्यायाधीशले आवश्यकता अनुसार तोकेको
अदालतका अन्य न्यायाधीश                                             -सदस्य
(ग)    प्रधान न्यायाधीशले तोकेको उच्च अदालतको मुख्य
न्यायाधीश एक जना                                                        -सदस्य
(घ)    मुख्य रजिस्ट्रार                                                                  -सदस्य
(ङ)    रजिस्ट्रार                                                                          -सदस्य
(च)    महान्यायाधिवक्ताले तोकेको नायब महान्यायाधिवक्ता       -सदस्य
(छ)   नेपाल बार एसोसिएसनको अध्यक्ष वा सो
एसोसिएसनले तोकेको पदाधिकारी एक जना                     -सदस्य
(ज) मुख्य रजिस्ट्रारले तोकेको अदालतको सहरजिस्ट्रार       -सदस्य-सचिव
(३) उपनियम (१) बमोजिमको समितिको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ:-
(क)   अदालत तथा मातहतका अदालतहरूको मुद्दा फर्छ्‍यौटको योजना बनाई त्यसको आवधिक समीक्षा गर्ने,
(ख)   मुद्दाको काम कारबाहीमा देखा परेका समस्याहरूको निराकरण गर्न र कार्यविधिगत एक रूपता कायम गर्न आवश्यक निर्देशन दिने,
(ग)    मुद्दा व्यवस्थापनका विविध पक्षहरूमा अध्ययन विश्‍लेषण गरी सेवाग्राहीको हितमा मुद्दाको काम कारबाहीलाई छिटो छरितो र प्रभावकारी बनाउन आवश्यक कार्य गर्ने,
(घ)    मुद्दा तथा अभिलेख प्रणाली व्यवस्थित र पारदर्शी बनाउने,
(ङ)    मुद्दा व्यवस्थापन सम्बन्धी कार्यको अनुगमन गर्ने गराउने ।